तस्करीको सुन ६० किलोबाट अझै घट्नसक्ने, आजबाट खार्न सुरु, त्यसपछि मात्रै गुणस्तर परीक्षण

Advertisement

काठमाडौं । मोटरसाइकलको ‘ब्रेक सु’ भनेर भित्र लुकाएर ल्याइएको तस्करीको सुन गाल्न (खार्न) थालिएको छ । यसअघि सय किलोभन्दा धेरै भनिएको तस्करीको नेपाल राष्ट्र बैंकसहितका निकाय प्रतिनिधि बसेर जोख्दा ६० किलो ७८९ ग्राम मात्रै यकिन हुन पुगेको थियो । 

उक्त यकिन भएको सुन आज मंगलबारबाट खार्न सुरु गरिएको छ । खारेपछि यसको तौल अझै घट्नसक्ने राष्ट्र बैंकको टक्सार महाशाखाले जनाएको छ । त्यसपछि मात्रै सुनको गुणस्तर परीक्षण गरिने जनाइएको छ । 

Advertisement

राष्ट्र बैंक, राजश्व अनुसन्धान विभाग, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रतिनिधिहरु बसेर सुरक्षा व्यवस्थासहित सुन गाल्न शुरु गरिएको महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए । उनका अनुसार सुन गाल्ने काम १०ः३० बजेबाट सुरु भएको हो । 

यसअघि सोमबार ‘ब्रेक सु’बाट सुन छुट्याउने र जोख्ने काम भएको सुन गालेपछि अझै घट्नसक्ने उनको भनाई छ । सुन गाल्ने काम सक्किएपछि मात्रै त्यसको गुणस्तर र आर्थिक परीक्षणको काम थालिने आचार्यले बताए । त्यसका लागि पनि केही दिन लाग्ने उनको भनाई छ । 

राजश्व अनुसन्धान विभागले गत साउन २ गते सिनामङ्गलस्थित विमानस्थल भन्सार कार्यालय अगाडिबाट सुनसहितको १५५ किलो ‘ब्रेक सु’ बरामद गरेको थियो । त्यसपछि प्रारम्भिक जाँच गर्दा सय किलोभन्दा धेरै सुन रहेको अनुमान गरिएको थियो । त्यसपछि सुनको तौल यकिन गर्न, गाल्न र गुणस्तर परीक्षण गर्न बरामद भएको तस्करीको सुन टक्सार महाशाखा लगिएको थियो । 

प्रारम्भिक चरणमा सुन तस्करीको अनुसन्धान राजश्व अनुसन्धान विभागले गरे पनि पछि सरकारको नेतृत्वको दबाबमा सीआईबीलाई दिने काम भएको थियो । यस समवन्धमा अहिले सीआईबीले अनुसन्धान गरिरहेको छ । 

सय किलोभन्दा धेरै भनिएको सुन जोख्दा जम्मा ६० किलो सात सय ग्राम मात्रै पाइयो

Advertisement

Advertisement